केहि दिन अगाडि हो सायद एउटा पोस्ट पढ्नमा आयो “एभोकाड़ो फल त विषालु रहेछ”
के त्यसै हो त ? के एभोकाड़ो फल खान नमिल्ने हो त ? के छ वास्तविकता ? आज त्यसै बारे चर्चा गरौ ।
यो फल १०,००० वर्ष इसा पूर्वमा मध्य अमेरिकी देश मेक्सिकोमा भेटिएको हो र खेती गर्न लागेको ५००० वर्ष जति भएको अनुमान छ ।
एभोकाड़ो नेपालको तराई देखि मध्य पहाडसम्म खेती गर्न सकिने Lauraceae परिवारको सदावहार रुख हो । उष्ण देखि समसितोशोष्ण हावापानी भएको क्षेत्रमा यसको खेती गर्न सकिन्छ । यो फललाई नेपालीमा घिउ फल र विदेश तिर Alligator pears, Avocado pear पनि भनिन्छ । वानस्पतिक रुपमा एभोकाड़ो फल भित्र एउटा मात्र बीउ भएको बेरी फल नै हो ।
स्वादः एभोकाड़ो फल बोटमै पाक्दैन । छिप्पिएका फल पोखरा आसपासका क्षेत्र मा असोजको पहिलो साता र काठमान्डौको आसपास कार्तिकको पहिलो साता टिपेर केहि दिन राखेपछि पाक्न थाल्दछन । टिप्दा सारो भएको फल पाकेपछि नरम हुन्छ र स्वादमा अमिलो, गुलियो, पिरो, तितो, टर्रो, नुनिलो केहि हुदैन मात्र एकदम नरम र चिल्लो नौनी घिउको झल्को दिने खालको हुन्छ । शुरुशुरुमा केहि दिन मन नपर्न पनि सक्छ तर बानी परेपछि भने फेरी फ्यानै भइन्छ अति मन पर्न थाल्छ ।
एभोकाड़ो फलमा पाइने पोषक तत्व स् शुरु शुरुमा यो फलमा धेरै चिल्लो पदार्थ छ भनेर भनियो तर पछि थाहा लाग्यो यसमा त मानव उपयोगी चिल्लो पदार्थ (Monounsatureted fat) रहेछ जसले मानिसको कोलेस्ट्रोल घटाउन सहयोग गर्ने पो रहेछ र यसमा एन्टी इन्फ्लामेटोरी फाईटोन्युट्रीएन्ट, एन्टिअक्सिडेन्ट तत्व, फाइबर, भिटामिन र अन्य धेरै खनिज पदार्थ पाइन्छ भनेर ।
१०० ग्राम खान योग्य एभोकाड़ो फलमा ६७.० ग्राम पानी, २२३ किलो क्यालोरी, नाइट्रोजन ०.२९ ग्राम, प्रोटिन १.८१ ग्राम, टोटल फ्याट २०.३ ग्राम, एस (Ash) २.५५ ग्राम, कार्बोहाइड्रेट ८.३२ ग्राम, म्याग्नेसिएम् ३२.८ मिलिग्राम, र पोटासिएम ५७६ मिलिग्राम लगाएत अन्य खनीज तत्व र भिटामिन समेत पाइने उल्लेख छ । (श्रोत : USDA)
के हो एभोकाड़ोको विषालुपन ?
पर्सिन (C23H40O4) एभोकाडोको फलमा पाइने एक प्रकारको ढुसिनाशक विष हो र यो चिल्लो पदार्थमा घुलनशील हुन्छ र फल भित्रको बीउबाट पुरै फलमा फैलिन्छ । पर्सिन विष फल, पात, बोक्रा फलको बाहिरि भाग सबैमा हुन्छ ।
अब के गर्ने ?
भर्खर नेपाली जन जिब्रोले मन पराउन थालेको फल नखाने त ? होइन, राम्ररी पाकेको एभोकाडो फल खादा मानिसलाइ कुनै हानी नोक्सानी हुदैन ढुक्क संग खादा हुन्छ ।
तर यहि पर्सिन पशुवास्तुका लागि भने विषालु हुने, कुकुर बिरालालाइ यो विषले कुनै असर नगर्ने तर फल भित्रको बीउ ठुलो हुने भएकाले सिंगै फल दिदा घाटीमा अड्किने समस्या हुन् सक्छ । चराहरु, कुखुरा, हाँस, खरायो, बाख्रा, भेडा, सुँगुर, गाई, भैसीलाइ भने एभोकाडोको फल पात खुवाउनु हुदैन स्वास प्रस्वास देखि मुटु, मृगौला फेल हुने पाचनक्रियामा असर पुर्याउने र अन्तमा मृत्युसम्म पनि हुन् सक्छ ।
तिलोत्तमा,१,शंकरनगर, रुपन्देही