प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरले चीनबाट समुद्री मार्ग हुँदै गोयल इन्टरप्राइजेजले ल्याएको २९ मेट्रिक टन लसुन नेपाल प्रवेश गर्न रोक लगाएको छ ।
३७ लाख ८५ हजार १३० रुपैयाँ बराबरको परल मूल्यको लसुन क्वारेन्टाइनले इन्ट्री परमिट नदिएका कारण भन्सारमै थन्किएको छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय विराटनगरले ‘माथिको आदेश’ पछि एक महिना यता लसुन आयात रोकिएको जानकारी दिएको छ । यो वर्ष नेपालमा माग भन्दा पनि लसुन आयात अत्यधिक भएकाले क्वारेण्टाइन पास नगर्नु भन्ने आदेश आएकोले प्रवेश गर्न नदिएको कार्यालयको भनाइ छ । वारेन्टाइनले कडा गर्न थालेपछि केही दिन यता व्यापारीहरूले चिनियाँ लसुन ल्याउन पूर्णरुपमा रोकेका छन् ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीना अर्थात पुस मसान्तसम्म ६ अर्व १८ करोड ३९ लाख रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएकोे छ ।
गोयल इन्टरप्राइजेजको भन्सार क्लियरेन्सको काम गर्दै आएका भन्सार एजेन्ट ललित बोहोराले सबै प्रक्रिया पूरा गरेर एलसीमार्फत मगाएको मालको जाँचपास रोकिएकोमा विरोध जनाए। यसरी एलसी खोलेर ल्याइएको सामान भित्त्याउन प्लान्ट क्वारेन्टाइनले रोक्न नमिल्ने उनले बताए। ’नयाँ एलसी खोलेर माल मगाउन रोक्न सकिने कुरा एउटा भयो तर एलसी खोलेर माल मगाइसकेपछि कतिपय माल बाटोमै आउँदै गरेको हुन्छ। कतिपय माल भन्सार परिसरमा र कति पानी जहाजमै हुन्छ। यस्तो अवस्थामा एक्कासि रोक्नु भनेको गैरकानूनी हो,’ उनले भने। प्रक्रिया के पूरा गर्नुपर्ने हो त्यो गरेर तत्काल जाँचपासका लागि क्वारेन्टाइनले प्रमाणपत्र दिनुपर्ने उनले बताए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले एलसी खोलेर आइरहेको लसुन सरकारले कुनै पनि बहानामा रोक्न नमिल्ने बताए। सरकारले आयात अनुमति दिइसकेपछि व्यापारीलाई दुःख दिने नियतले नाकामा कुनै पनि माल वस्तु रोकिनु गलत भएको बताउँदै उनले सरकारले यदि रोक्नैपर्ने भए मटर, सुपारी, छोकडाजस्तै रोक लगाउन सक्ने उल्लेख गरे ।
मेची भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइनका प्रमुख सन्तोष थापाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सचिवस्तरीय निर्णयबाट आयातित लसुनको पीआरए (पेस्ट रिक्स एनालाइसिस) गर्ने भनेर तत्काललाई लसुन आयातमा अनुमति नदिने निर्णय भएकाले आफूहरूले लसुन आयातका लागि कुनै स्वीकृति नदिएको बताए ।
सरकारले क्वारेण्टाइन पास गर्न नमानेपछि २९ मेट्रिक टन लसुन भन्सारमै अलपत्र
