४५० वर्ष अघिदेखि पढ्न थालिएको स्वस्थानी व्रतकथाको वास्तविकता

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा सोमबारबाट शुरु भएको छ । कुमारजी र अगस्त्य मुनिबीच भएको संवाद समेटिएको यो मौलिक धार्मिक साहित्यमा श्री स्वस्थानीको व्रत बसेर पार्वतीले महादेवलाई पतिका रूपमा पाएको उल्लेख छ ।
परिवारका सबै सदस्य वाचकको वरिपरि बसेर श्री स्वस्थानी व्रतकथा श्रवण गर्थे । कृषिमा निर्भर समाजमा संयुक्त परिवार थियो, तर जागिरमा अडिएको वर्तमान समाजमा संयुक्त परिवार इतिहास बन्दै गएको छ । जागिर र अवसरको खोजीमा समाज ‘एकल परिवार’मा रूपान्तरित हुँदै गएको छ । यस्तो अवस्थामा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर व्रतकथा सुन्ने प्रसंग नै आफैमा कथा बन्दै गएको छ ।
कहिलेदेखि पढ्न थालियो स्वस्थानी ब्रत कथा ?
काठमाडौं उपत्यकामा शैव मत विकास भएसँगै श्री स्वस्थानी व्रतकथा वाचन–श्रवण सुरु भएको इतिहास पाइन्छ । (हेर्नुहोस निर्मल श्रेष्ठले नागरिक दैनिकको २५ माघ २०७६मा लेख्नु भएको श्री स्वस्थानी व्रतकथाको विहङ्गावलोचन शिर्षकको लेख)
पन्ध्रौं शताब्दीको शुरुमै राजा यक्ष मल्ल (नेपाल सम्वत्. ५५९–६०२) ले शैव मतको प्रभावमा परी तचपाल प्रांगणमा दत्तात्रयको मन्दिर निर्माण गरेर शैव मतका महान् प्रचारक गुरु दत्तात्रयको मूर्ति स्थापना गरेका थिए । यही सिलसिलामा महादेवको महिमालाई पैmलाउन श्री स्वस्थानी व्रतकथाको सारवस्तु लिंगपुराणबाट उद्धृत गरी मूलकथामा विभिन्न शास्त्र तथा जीवनोपयोगी शिक्षा थपेर नेपाल भाषामा ‘श्री स्वस्थानी व्रतकथा’को लेखन कार्य भएको थियो ।
संस्कृत भाषामा नेपाल संवत ६९३ अर्थात् विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको भेटिएको छ। त्यसलाई नेपाल संवत ७ सय २३ अर्थात् विक्रम संवत १६६० मा नेपाल भाषामा उल्था गरिएको भेटिन्छ।
राष्ट्रिय अभिलेखालयमा संगृहीत स्वस्थानी ग्रन्थमा नेपाल संवत् ६९३ फाल्गुन शुक्ल ५ वृहस्पतिबारका दिन श्री जयन्तदेव भन्नेले लिंगपुराणान्तर्गत स्वस्थानी परमेश्वरीको व्रतकथा लेखी सिध्याएका थिए भन्ने उल्लेख छ (प्रदीय ः अभिनव संस्कृति विश्वकोष)।
यस कालक्रमलाई जोडेर हेर्दा महेन्द्र मल्लको पालामा श्री स्वस्थानी व्रतकथा लेखिएको देखिन्छ, यस व्रतकथा लेखिएको करिब १०१ वर्षपछि राजा प्रतापमल्लद्वारा हनुमानढोकास्थित तलेजु मन्दिरपछाडि प्रतिष्ठापित गरिएको स्वस्थानी मूर्तिको पाठपीठ नेपाल भाषामा यस्तो छ ः
१. स्वस्ति।। श्री ३ शिवसहितन श्री ३ स्वस्थानी परमेश्वरी शस्त्रशास्त्र संगीतादि सकलविद्या पारंग महाराजाधिराज धर्मराज
२. नेपालेश्वर विदग्ध चूडामणि सकल राज चक्राधीश्वर श्रीश्रीराजराजेन्द्र कवीन्द्र जयप्रतापमल्ल भट्टारकदेवन स्था
३. पन याङ विज्याङा।। संवत् ७९४ माधमासे शुक्लपक्षे श्रीपञ्चम्यां तिथौ अश्विनि नक्षत्र शुभयोग आदित्यबार कुन्हु ।।
ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी देवीहरूलाई श्री स्वस्थानी देवीका आठ स्वरूप मानिएको छ । ती आठ स्वरूपको बीच भागमा कमलासनमा चतुर्भुज स्वस्थानी देवीको दायाँ माथिल्लो हस्तले त्रिशूल, दायाँ तल्लो हस्तले वरद मुद्रामा, बायाँ माथिल्लो हस्तले खड्ग र बायाँ तल्लो हस्तले कमलफुल धारण गरेको वर्णन छ (श्री स्वस्थानी व्रत–कथा, दीपक प्रेस, नदेसर, वाराणसी कैन्ट)। कुमारजीले अगस्त्य मुनिलाई श्री स्वस्थानी देवीको माहात्म्यलाई यसरी वर्णन गरेका छन्, ‘हे अगस्त्य मुनि, जुन मनुष्यले एकचित्त भै श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला अथवा उनका माहात्म्य लेखि (हस्त लिखित पुस्तक) घरमा राख्ला, तेस्का घरमा दरिद्र कैले हुँदैन आदित्यादि नवग्रह सबै प्रसन्न हुनन् अकाल मृत्यु हुँदैन फेरि भूतपे्रत पिचास डाकिनी त्रिदोस आदि रोगको भय हुँदैन।

चोर शत्रु आदि वन जन्तुको भय हुँदैन ब्रह्महत्यादि सम्पूर्ण पाप नष्ट भै यसलोकमा सुख सम्पति पाई परलोकमा कैलास बास होला भनि वर्णन गरिएको छ’ (श्री स्वस्थानी परमेश्वरी कथाव्रत, रामकृष्ण बर्मा, गोर्खा भारतजीवन पे्रस वनारस सिटी)।
लिंगपुराण र अन्य शास्त्रहरूमा श्री स्वस्थानी व्रतकथा समेटिएको छ भनी श्री स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा ‘इति श्री स्कन्दपुराणे केदारखण्डे माघ माहात्म्य कुमार अगस्त्य सम्वादे लिंगपुराणादि नानाशास्त्र संग्रहे श्रीस्वस्थानी परमेश्वरी कथायां द्वाविशोध्याय’ उल्लेख छ। यस श्लोकबाट श्री स्वस्थानी व्रतकथाको मूल स्रोत लिंगपुराण रहेको प्रस्ट हुन्छ।

व्रतकथाको छपाइ इतिहास
छपाइ हुनुअघि हातहातै नेपाल भाषामै श्री स्वस्थानी व्रतकथा लेखेर पढ्न चाहानेहरुलाई बाँडिन्थ्यो । प्रताप मल्लद्वारा स्थापित तलेजु मन्दिरपछाडि रहेको श्री स्वस्थानी मूर्तिको पाठपीठमा ‘श्री ३ स्वस्थानी परमेश्वरी ’ उल्लेख गरिए जस्तै नेपाल भाषामा लेखिएको श्री स्वस्थानी व्रतकथा पुस्तकमा ‘श्री ३ स्वस्थानी परमेश्वरी’ भनी सम्बोधन गरिएको छ । श्रेष्ठले आफ्नो लेखमा उल्लेख गर्नु भए अनुसार काठमाण्डौको मनोरञ्जन छापाखानामा वि.सं. १९५५ मा ‘सुधासागर’ छापियो। यही समयमा श्री स्वस्थानी व्रतकथा छापिएको थियो, त्यो उपलब्ध छैन। पछि गोर्खा भारत जीवन प्रेस, बनारसमा श्री स्वस्थानी व्रतकथा नेपालीमा छपाइ हुन थाल्यो।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *