आगामी बुधबारदेखि शुरु हुन लागेको तिहार नजिकिँदै गर्दा देशभरका बजारमा नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्तासहितको भाइ मसलाको व्यापार बढ्न थालेको छ । भाइटीकाको दिन सप्तरङ्गी टीका लगाइदिएपछि दिदी बहिनीले दाजु भाइलाई भाइमसला (ड्राइ फ्रुट्स ) दिने प्रचलन छ ।
ती मसलाजन्य उत्पादन अरु बेला पनि खपत हुने भए पनि तिहारको बेला उच्च बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । जस कारणले गर्दा पनि व्यवसायीले तिहारलक्षित ठुलो परिमाणमा बाहिरी मुलुकबाट भाइमसला आयात गरेका छन् ।
काठमाण्डौ न्यूरोडको बजारमा अहिले काजु प्रतिकिलो दुई हजार रुपियाँ, यस्तै बदाम प्रतिकेजी एक हजार सात सय रुपियाँ, पेस्ता प्रतिकेजी दुई हजार रुपियाँ, किसमिस प्रतिकेजी छ सय रुपियाँ, नरिवल प्रतिकेजी छ सय रुपियाँ, खुर्पानी प्रतिकेजी नौ सय, अन्जिर प्रतिकेजी दुई हजार रुपियाँ, ल्वाङ प्रतिकेजी दुई हजार, सुकमेल प्रतिकेजी तीन हजार पाँच सयदेखि चार हजार रुपियाँ, अलैँची प्रतिकेजी एक हजार पाँच सय, दालचिनी ५५० रुपियाँ मूल्य रहेको छ । यस्तै काँचो बदाम २३० रुपियाँ, मिश्री प्रतिकेजी १८० रुपियाँ मूल्य रहेका छन् । व्यवसायीका अनुसार गत वर्ष प्रतिकेजी एक हजार पाँच सय रुपियाँ रहेको काजुको मूल्य बढेर दुई हजार पुगेको छ । यस्तै गत वर्ष प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ मूल्य रहेको सुकमेलको मूल्य बढेर अहिले चार हजार पुगेको छ । अन्य मसलामा पनि मूल्य बढेको छ ।
खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्रचार्यका अनुसार थोक व्यापारीले मूल्य बढाएका कारण खुद्रामा पनि भाइमसलाको मूल्य सामान्य बढ्न गएको बताउनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा भाइ मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको छ ।सबैभन्दा बढी काजु र सुकमेलको मूल्य बढेको उहाँको भनाइ छ ।
सबै सामान विदेशबाट आयात हुने गर्छ, थोक व्यापारीले बाहिरीबाट मूल्य बढेर आएको भन्ने गरेको उहाँको भनाइ छ ।
स्मरणरहोस् नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब २० करोड ८१ लाख रुपियाँ बराबरको भाइमसला आयात भएको छ । गत वर्ष सोही तिन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५० हजार रुपियाँ बराबरको भाइमसला आयात भएको छ ।
तीन महिनामा १ अर्व २० करोडको भाईमसला आयात
