भनिन्छ, संसारको विकास पागलहरुले गरेका हुन् । किनकी केही काममा परिणाम नआउंदासम्म एकोरिएर लाग्ने मानिसलाई समाजले ‘मान्छे’ मान्दैन । पागल मान्छ । र, यो प्रवृत्ति हाम्रो देशमा मात्र छैन । विश्वभर नै छ ।
सुकरात, ग्यालेलियो, न्यूटनलाई पनि समाजले पागल भनेको थियो ।
र,
महाकवि देवकोटालाई पनि समाजले पागल भनेकै हो । बनाएकै हो ।
नेपालको कृषि—बन उद्यममा त्यस्ता केही ‘पागल’हरु छन् र तिनीहरुले केही न केही ‘उपद्रो’ गरिरहन्छन् । नेपालको जडीबुटी क्षेत्रमा त्यस्तै एकजना व्यक्ति हुनुहुन्छ— धर्ममहारस, जस्लाई झट्ट देख्दा धेरैलाई ‘पागल’ जस्तै लाग्छ । र, जब उहाँले नेपालको जडीबुटी क्षेत्रमा गरिरहेको काम थाहा हुन्छ तब श्रद्धाले शिर निहुरिन्छ ।
गोरखा अजिरकोटमा जन्मे हुर्केका महारसले सानै उमेरमा मातृ वियोग भोग्नु पर्यो । त्यसैले हजुरआमा र फुपुको ल्याड प्यारमा हुर्कनु भयो । गाउँमा राम्रो अस्पताल हुने कुरै भएन, मान्छेहरु बिरामी भएपछि आँपपिपल अस्पतालमा जान्थे । तर, त्यहाँ पनि रोग निको नभएपछि उहाँको हजुर आमाकहाँ आउँथे । उहाँले के के जडीबुटी खान पिउन दिनुहुन्थ्यो । बिरामी निको हुन्थे ।
त्यही देखेपछि महारसको मनमा आर्युवेद चिकित्सातिर लगाव बढ्यो । एसएलसी पछि उच्च शिक्षाको लागि काठमाण्डौ आउनु भयो र कानुन विषय पढ्न थाल्नु भयो । त्यहीक्रममा उहाँलाई कानुन ‘मेरो विषय होइन’ भन्ने लाग्यो । २०४२ सालको सत्याग्रहको रापताप चलिरहेकोले उहाँमा राजनीतितर्फ आकर्षण बढ्यो, तर कुनै पार्टीमा कहिल्यै लाग्नु भएन ।
०४६ सालको आन्दोलनको रापताप चलिरहेको बेला महारसको मनमा भने आर्युवेदप्रतिको हुटहुटी बढिरहेको थियो । उहाँ नेपालका धेरै ठाउँ पुग्नु भयो । तर, त्यतिले मात्रै सन्तुष्टि नदिएपछि भारतका थुप्रै ठाउँ पुग्नुभयो । जोगी, सन्यासीहरुको संगत गर्नु भयो, उनीहरुले प्रयोग गर्ने जडीबुटीको बारेमा सोधखोज गर्नुभयो । कहलिएका साधु सन्तहरुसंगको संगतले उहाँमा आर्युवेद चिकित्सा पद्धती प्रतिको आकर्षण झन झन बढाउंदै गयो ।
झण्डै एक दशक भारत बसाईकै क्रममा उहाँ धर्मराज पौडेलबाट धर्ममहारसमा परिणत हुनु भयो । आर्युवेद चिकित्सामा विभिन्न रस र महारसहरुको महत्व कति छ भन्नै पर्दैन । त्यसमाथि आफ्नो नामको शुरुको अक्षर धर्म जोडेर धर्म महारस नाम राख्नु भएको थियो ।
नेपाल फर्केपछि उहाँ स्याङजा र पाल्पाको संगस्थल राम्दीमा बस्न थाल्नु भयो । त्यहाँ उहाँले योगी नरहरीनाथको संगत गर्ने मौका पाउनु भयो ।
त्यहीबेला उहाँले शिबशक्ति भेदन ब्रम्हयोग भन्ने पुस्तिका विसं २०६० मा प्रकाशित गर्नु भयो । त्यसको केही समयमै ५०० जडीबुटीहरुको चिनारी सहित गतिशिल चिकित्सा विज्ञान भन्ने अर्काे पुस्तक प्रकाशित भयो । २०६९ सालमा ३ हजार जडीबुटीहरु समेटेर आर्युवेद जडीबुटी विज्ञान भन्ने पुस्तक प्रकाशन भयो ।
त्यसैगरि २०७६ सालमा ७ हजार जडीबुटी र १०० धातु तथा जिवाष्महरुको परिचयसचितको महारस निघण्टु भन्ने पुस्तक प्रकाशित भयो । यो पुस्तक नेपालको आर्युवेद क्षेत्रको लागि एउटा ‘इन्साक्लोपेडिया’ नै हो भन्दा फरक पर्दैन । मदन पुरस्कारको लागि उत्कृष्ठ तीनमा परेको ९ हजार मूल्यको यो पुस्तकले बजार राम्रै लिए पनि प्रकाशकको कारण आफू भने पीडित हुनु परेको गुनासो उहाँको छ । ‘प्रकाशकबाट पीडित हुने लेखकहरु अनगिन्ती छन् जस्तो लाग्छ, त्यसमध्येको एक जना म पनि हुँ’ उहाँ भन्नुहुन्छ ।

उहाँले केही वर्ष अगाडि आफ्नो बुबाको जग्गा नवलपुरमा आर्युवेद उद्योग चलाउने तयारी गर्नु भएको थियो । तर, सरकारी अधिकारीहरुले मध्यवर्ती क्षेत्रसंग जोडिएको स्थान भएकोले वृहतरुपमा आर्युवेद उद्योग संचालन गर्न नपाउने भन्दै रोक लगाएपछि उहाँ अहिले अर्घाखाँची पुग्नु भएको छ ।
केही वर्षदेखि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ९ वृहतरुपमा जडीबुटी खेती गरिरहनु भएको छ । जहाँ अहिले कागती, दालचिनी, अमला, लेमनग्रास, काउसो लगायतका एक दर्जन जति जडीबुटीको खेती गरिरहनु भएको छ ।
त्यसलाई क्रमिकरुपमा बढाउंदै लैजाने प्रयासमा उहाँ हुनुहुन्छ । त्यहाँका वडाअध्यक्ष खेमराज चुंदालीको प्रोत्साहनले उहाँलाई थप उत्साहित बनाएको छ ।
‘सामान्यतया म महत्वाकांक्षा नभएको व्यक्ति हुँ तर नेपालको जडीबुटीको विकास र विस्तारको लागि एउटा विशेष अभियान चलाउने प्रयास गर्दैछु । हेरौं के हुन्छ ?’ उहाँ भन्नुहुन्छ—हाम्रा जडीबुटीलाई हाम्रा शासकहरुले चिनेनन्, तर विदेशीहरुले चिनेर हाम्रो अस्तित्व नै सिद्धाउने गरि आफ्नो अधिकार जमाउंदैछन् । त्यसलाई चिर्नको लागि पनि देशव्यापीरुपमा अभियान चलाउनै पर्ने आवश्यकता महसुस गरेर त्यसको स्वरुप देखाउनको लागि आफूले अर्घाखाँचीमा काम शुरु गरेको हुँ ।