कृषि तथा बन विश्वविद्यालय (एएफयू)की उपकुलपति प्रा.डा. शारदा थपलियाले ‘राजेश बाबु’को इशारा पर्खिदा डीन लगायतका मातहतका निकायमा नियुक्ति प्रकृया लम्बिएको छ । उता थपलियाले प्रस्ताव गरेकी एक जना प्रध्यापकले कृषि संकायको डीन बन्न अस्विकार गरेसंगै डीन नियुक्ति प्रकृया रोचक मोडमा पुगेको छ ।
विश्वविद्यालय स्रोतका अनुसार ‘प्लाण्ट ब्रिडिङ’का प्राध्यापक प्रा डा.माधव पाण्डेले कृषि संकायको डीन बन्न अस्विकार गर्नु भएको छ । डा.पाण्डे विश्व विद्यालय भित्रकै वरिष्ठ प्रा.डा.हरु मध्येमा पर्नुहुन्छ । कृषि संकायमा उहाँभन्दा वरिष्ठ रहेका अरविन्द श्रीवास्तवको अवकाश पाउने अवधि केही महिना मात्र बाँकी रहेकोले उपकुलपति थपलियाले पाण्डेलाई प्रस्ताव गर्नु भएको बुझिन्छ । उहाँलाई डीन बन्नको लागि कृषि संकायकै अधिकाँश प्रध्यापकहरुले अनुरोध गरे पनि पाण्डेले भने त्यसलाई अस्विकार गर्नु भएको छ ।
‘प्राध्यापकको काम प्रशासन चलाउनु होइन, राम्रो पढाउनु हो’ भन्ने आफ्नो मान्यताका कारण आफूलाई गरिएको प्रस्ताव अस्विकार गरेको बताइएको छ । यसबारेमा कुरा गर्न खोज्दा प्रा.डा.पाण्डेले आफू ‘लो फ्रोफाइलमा बसेर प्राज्ञिक काम गर्न रुचाउने व्यक्ति भएको’ भन्दै त्यसबाहेक अरु विषयमा नबोल्ने बताउनु भयो । ‘तपाईले जे थाहा पाउनु भएको छ, त्यही लेख्नुस्, मेरो भन्नु केही छैन ।’ उहाँले कृषिभेटसंग भन्नुभयो ।
डीनको लागि आएको प्रस्ताव डा. पाण्डेले अस्विकार गरेपछि त्यसको फाइदा प्रा.डा. अर्जुन श्रेष्ठलाई पुग्ने देखिएको छ र अब उहाँ नै डीन बन्ने लगभग निश्चित देखिएको छ । डा. श्रेष्ठ यस अगाडि पनि डीन भैसक्नु भएको छ ।
यद्धपी उपकुलपति थपलियाले ३ वटै संकायको डीन सहित विश्वविद्यालय अन्तरगतका १० वटै निर्देशनालयहरुको निर्देशक र उपनिर्देशकको आन्तरिक भागवण्डा मिलाएपछि बल्ल नियुक्ति प्रकृया शुरु गर्ने तयारी गर्नु भएको छ । ‘डीन बन्न नपाएकाहरु असन्तुष्ट भएर कुनै पनि बेला आफू विरुद्ध बखेडा गर्न सक्छन् भन्ने महसुस गरेर नै उहाँले सम्भावित प्राध्यापकहरुलाई म टीममा समेट्छु तर तपाइले रोजेकै नहुनसक्छ भन्दै थम्थम्याउन शुरु गर्नु भएको छ’ उपकुलपति कार्यालय स्रोतले भन्यो । उहाँले ‘म टीममा समेट्छु तर तपाईले चाहेकै नहुन सक्छ’ भनेर सन्देश दिनुको अर्थ डीन बनाउंदिन, निर्देशक बनाउंछु, त्यसैमा चित्त बुझाउनुस् भन्ने रहेको प्रध्यापकहरुको बुझाई छ ।
थपलियाको यो रणनीतिको मारमा भेटनरी संकायको डीनको दावेदार रहेका डा. ईश्वरी कडेरिया लगायतका प्रध्यापकहरु पर्ने निश्चित रहेको छ । प्रधानमन्त्री केपी ओली लगायतका एमाले नेतृत्वसंग सोझो पहुँच भएका कडेरियालाई कुनै पनि हालतमा डीन नबनाउने बरु कुनै निर्देशनालयको प्रमुख बनाएर ‘थन्क्याउने’ सोंचमा थपलिया पुग्नु भएको बताइन्छ । ‘एक त माथिसम्म सोझो पहुँच भएका चल्तापूर्जा कडेरियालाई डीन बनाउंदा भोलीको दिनमा कतै आफै पनि ओझेलमा पर्ने हुँ की भन्ने डर शारदा म्याममा रहेको देखिन्छ । काम गर्ने नै सोंच हो भने डीनले उपकुलपतिको कामलाई ओझेलमा पार्न सक्ने सम्भावना नै हुँदैन तर ‘डर ठूलो कुरो हो, मान्छेको मनमा डरको भूत पसेपछि कसैको केही लाग्दैन’ उपकुलपनि निकट स्रोतले भन्यो ।
त्यसमाथि डा. कडेरियाले आफ्नो सट्टा प्रा.डा. कल्याणी मिश्रलाई उपकुलपति बनाउन खोजेको बुझाईमा थपलिया हुनुहुन्छ । त्यसको प्रतिशोध साँध्न पनि कडेरियालाई पन्छाउने टुंगोमा पुग्नु भएको बताइन्छ । जबकी कडेरियाले उपकुलपति नियुक्तिमा ‘मैले बनाउने होइन, जो भए पनि फरक पर्दैन, माओवादीकै चांही नआइदिए हुन्थ्यो’ भन्ने गरेका थिए ।
पशु संकायको डीनमा प्राध्यापक भूमिनन्द देवकोटालाई नियुक्त गर्ने सोंचमा डा.थपलिया पुग्नु भएको बताइएको छ । हाल पोष्ट ग्रयाजुयट कार्यक्रमका प्रमुख देवकोटालाई डीन बनाएर कडेरियालाई उहाँको ठाउँमा नियुक्ति दिने वा अरु कुनै निर्देशनालयको प्रमुख बनाउने तयारीमा थपलिया हुनुहुन्छ ।
यसबारेमा जिज्ञासा राख्दा कडेरियाले बोल्न चाहानु भएन । ‘म को हुँ, मेरो क्षमता के हो ? हिजोको दिनमा मैले कस्को लागि कति काम गरें भन्ने कुरा उपकुलपति लगायत विश्व विद्यालयका हरेकलाई थाहा भएको कुरा हो । अहिलेलाई यो भन्दा धेरै बोल्ने कुरा छैन’ कडेरियाले भन्नु भयो ।
स्रोतका अनुसार उपकुलपति थपलिया ‘सबैको चित्त बुझाउन’ भन्दै नियुक्तिहरुमा एमाले र कांग्रेसका मात्र नभएर माओवादी र मधेशवादी दल निकट प्रध्यापकहरुलाई समेट्ने प्रयास गरिरहनु भएको छ । त्यही अनुसार बन संकायमा बासु पोख्रेललाई डीन बनाउने तयारी भैरहेको बताइएको छ । तर, त्यसको लागि उहाँले ‘राजेश बाबुको इशारा’ पर्खिरहनु भएको बताइन्छ । प्रधानमन्त्री केपी ओलीका पिए राजेश बज्राचार्यको इशारा पाएपछि बल्ल ‘कदम चाल्ने मुडमा’ उपकुलपति थपलिया हुनुहुन्छ ।
विश्वविद्यालयको बारेमा चासो राख्नेहरु भने हरेक विषयमा ‘राजेश बाबु’ वा अरु कसैको मुख ताक्नु उचित नहुने बताउंछन् । ‘विश्वविद्यालयमा के काम गर्दा भलो हुन्छ, के गर्दा हानी हुन्छ भन्ने कुरा विश्वविद्यालय परिवारले जानेको हुन्छ, राजेश बाबुहरुले त पाएसम्म खेल्ने न हुन् । हिजो जसरी डा. रेग्मी उपकुलपति हुँदा रेणु दाहालहरुलाई खेल्ने मैदान उपलब्ध गराइयो, त्यस्तै अवस्था फेरि पनि दोहोरिने खतरा देखियो । त्यो हुन नदिनको लागि उपकुलपतिलाई अहिलेदेखि नै खबरदारी गर्नु पर्ने भयो । थपलियाबाट आर्थिक अनियमितताको कल्पना गर्न सकिन्न, तर हरेक महत्वपूर्ण निर्णयहरुमा राजनीतिक पार्टी र नेताहरुलाई खेल्न दिने हो भने विश्वविद्यालय नेतृत्वको के औचित्य ?’ एक जना प्रध्यापकले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।
रोचक बन्दै कृषि विश्वविद्यालयको डीन नियुक्तिको हिसाब किताब, प्रा.डा पाण्डेद्धारा डीन बन्न अस्विकार
