आज सरस्वती पूजा । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वती भारती, शारदा, हंसबाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छिन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची, ल्यापटप र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।
वसन्त ऋतु प्रारम्भ
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निले विद्या र बुद्धि स्फुरण हुन्छ भन्ने धार्मिक विश्वास छ ।
सरस्वती पूजा नै अक्षराम्भ हो ?
सरस्वती पूजा विशेषगरी विद्यार्थीका लागि प्रेरणादायी दिन मानिन्छ । भारत र नेपालका धेरै विद्यालयहरूमा सरस्वती पूजाका अवसरमा विशेष पूजा कार्यक्रम गरिन्छ, तर अनिवार्य रूपमा अक्षराम्भ गराउनुपर्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । अर्थात् यस दिन बालबालिकाले अनिवार्य रूपमा अक्षराम्भ गर्नुपर्छ, अरु दिन गर्नु हुँदैन भन्ने होइन ।
शिक्षाविद्हरूका अनुसार, शिक्षा कुनै विशेष दिनमा सीमित हुनुहुँदैन । बालबालिकाको सिकाइ प्रक्रिया दीर्घकालीन र क्रमिक हुन्छ ।
अक्षराम्भ भन्नाले बालबालिकालाई पहिलो अक्षर चिनाउने प्रक्रिया हो । कतिपय मन्टेश्वरी तथा प्राथमिक विद्यालयहरूले सरस्वती पूजाका दिन अनिवार्य रूपमा अक्षराम्भ गराउने प्रवृत्ति अपनाएका छन् । जुन गलत छ ।
बाल मनोवैज्ञानिकहरूका अनुसार, हरेक बालबालिकाको सिक्ने क्षमता फरक हुन्छ । २ देखि ५ वर्षको उमेर बालबालिकाको प्रारम्भिक शिक्षाका लागि उपयुक्त समय भए पनि कुनै एक दिनमा अक्षराम्भ गरिनुपर्छ भन्ने नियम छैन ।
मोण्टेश्वरी शिक्षा अर्थात् सरस्वती पूजाको विकृतरुप
अचेल निजी विद्यालयहरु खासगरि मन्टेश्वरी संस्थाहरूले सरस्वती पूजाका दिन विशेष भर्ना अभियान सञ्चालन गर्छन् । विद्यालयहरूले अभिभावकहरूलाई आज भनर्न गरे विशेष छुट जस्ता रणनीतिहरू अपनाउँछन्, जसले अभिभावकलाई अनावश्यक दबाब सिर्जना गर्छ ।
फेसबुक, टिकटक, युट्युब जस्ता सामाजिक संजाल प्लेटफर्महरूमार्फत सरस्वती पूजाको नाममा गलत सूचनाहरू फैलाउने काम विद्यालयका संचालक रहेका व्यापारीहरुले गरिरहेका छन् ।
हरेक सँस्कार, सँस्कृतिमा व्यापारलाई घुसाउनु गम्भिर अपराध हो । सँस्कार र संस्कृतिका आ आफ्नै मूल्य मान्यता हुन्छन्, तिनीहरुलाई आफ्नै ढंगमा चल्न दिनु पर्छ । त्यसो नगरि हरेक धार्मिक र साँस्कृतिक कार्यमा व्यापार घुसाउंदा त्यसले धर्म सँस्कृतिलाई नै संकटमा पारिरहेको छ । सरस्वती पूजा लगायतका धेरै सँस्कृतिहरु त्यही संकटोन्मुख भएका छन् । बालबालिकाको कम र स्कुलका संचालक अर्थात् व्यापारीको पर्व धेरै बनेको छ सरस्वती पूजा । यो प्रवृत्तिलाई रोकेर सरस्वतीलाई विद्याकी देविकै रुपमै सिमित गर्नु जरुरी छ । तब बल्ल यो दिनको सार्थकता रहन्छ ।