पृथ्वीनारायण शाहको नारा कार्यान्वयन गरिरहेका नरेन्द्र मोदी र सिक्न नचाहेका नेपालीहरु

भारतीय राजनीतिमा नरेन्द्र मोदीको उदय भएपछि अर्थात् उनी प्रधानमन्त्री भएपछि दिएको राष्ट्रिय नारा हो—जय जवान जय किसान ।
यो नारालाई अहिले हरेक भारतीय राष्ट्रिय प्रतिष्ठाको विषय बनाएका छन् ।
तर, धेरैलाई थाहा नहुन सक्छ । यो नारा झण्डै तीन सय वर्ष अगाडि नै नेपालको राष्ट्र निर्माता पृथ्वीनारायण शाहले लगाएका थिए । अवस्था हेर्दा लाग्छ—भारतीय प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान र किसानको महत्वलाई बुझ्ने दृष्टिकोणमा हाम्रा राष्ट्र निर्माताको भावनालाई बुझे, नारालाई नक्कल गरे ।
तर, हामी चांही कता कता हरायौं ।
पृथ्वीनारायण शाहको बुझाईमा राज्यका दुइवटा आधार स्तम्भ हुन्–
किसान र सैनिक । उनी उपलब्ध भएसम्म सबै जमीनमा खेती गराइ उपयोगमा ल्याउने प्रयास गर्थे । त्यतिबेला रैकर, विर्ता, सेवा विर्ता (जागिर रहुन्जेल कमाउन पाइने, जागिरपछि सरकारकै हुने जमीन प्रशस्त थिए ।
राजवन्ध र राजगुठी पनि थिए । पृथ्वीनारायण शाहले ती सबैको लगत व्यवस्थित गरेका थिए । त्यसबाट पनि राम्रै आम्दानी हुन्थ्यो । निरन्तरको लडाईले गर्दा पृथ्वीनारायण शाहले प्रायः आर्थिक अभाव भोगिरहनु पर्यो । त्यसैले सरकारी जमीन साहु महाजनसंग धितो राख्नुका साथै करका क्षेत्र विस्तार गरेर रकम जुटाउंथे । जग्गाअनुसार तिरोको दर फरक फरक थियो । ‘गोर्खाली राजाले शासन गरेपछि धेरै कर तिर्नु पर्यो’ भन्ने गुनासो कतैबाट पनि नआओस् भन्ने बारेमा उनी सचेत थिए ।
उनी एउटा राज्य जितेपछि त्यहांबाट राजश्व कति उठ्छ, साधन स्रोतको उपयोग कतिसम्म गर्न सकिन्छ भन्ने विश्लेषण गरेपछि मात्र अर्काे राज्य माथि आक्रमण गर्थे । उनले जग्गाको अधिकतम उपयोग गर्ने नीति लिनुका पछाडि दुईवटा कारण थिए । एक त त्यसबाट समग्र कृषि उत्पादन बढ्थ्यो र देश समृद्ध हुन्थ्यो भने अर्काेतर्फ करका क्षेत्रहरु पनि बढ्थे, जसले गर्दा आफूलाई आवश्यक पर्ने पैसा जम्मा गर्न सकिन्थ्यो ।
इतिहासकार ज्ञानमणी नेपालकाअनुसार कतिपय राज्यका विद्रोहीहरुले आफ्ना शासकहरुको पतनको कामना गर्दै पृथ्वीनारायण शाह समक्ष माटोको डल्लो नै लिएर विजयको कामना गर्न जान्थे । त्यसक्रममा चौदण्डी राज्यका धनाढ्य हरिनन्द उपाध्यायले पृथ्वी नारायण शाहले नुवाकोट जितिसकेपछि आफ्नो राज्यको माटोको डल्लो बोकेर पृथ्वीनारायण शाहलाई बधाई दिनुको साथै आफ्नो राज्यमा आक्रमण गरि विजय प्राप्त गर्न शुभकामना दिएका थिए । पृथ्वी नारायण शाहले माटाको त्यो डल्लोलाई पूजा गरेर भण्डारमा राख्न लगाएका थिए ।
(विस्तृत विवरणको लागि हेर्नुहोस इतिहासकार ज्ञानमणी नेपालद्धारा लिखित नेपाल निरुपण पुस्तकको पेज नं २९७)

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *