
एलिस मिलिङटन
एलिस मिलिङटन
‘हिजो बिहान आकाशमा रातो बादल देखिएको थियो’ हिमाली जिल्ला ताप्लेजुङको वालुङ गाउँकी याकपालक पेम्बा भुटी शेर्पा भन्छिन्, —भोलि हिउँ पर्न सक्छ ।
नोभेम्बर २०२१ मा हामीले उनीसँग कुराकानी गरिरहँदा हिमपातबारे पूर्वानुमान गर्नुमा उनको निहित स्वार्थ पनि लुकेको थियो– उनका याकहरु तमोर उपत्यकाको उपल्लो छेउमा अवस्थित वालुङ क्षेत्रमा छरिएका थिए । पानी आउन सुरु हुनुभन्दा पहिले नै ती याकलाई नफर्काउने हो भने ती जनावरसँग उनको सम्पर्कविच्छेद हुनसक्छ । घाँसलाई बाक्लो हिउँले छपक्कै ढाकेपछि याकले त्यहाँ केही खान नपाएर भोकै मर्न सक्छन् । पेम्बाले सधैँ त्यसरी नै आकाशमा बादलको अवस्था हेरेर आफ्ना जनावर भेला पार्ने गर्छिन् ।
अर्काे दिन आयो तर हिउँ भने परेन ।
अन्ततः डिसेम्बर २९ का दिन जब हिउँ प¥यो तब एकैचोटि खनियो । केही घण्टाभित्रै तीन फिट बाक्लो हिउँ प¥यो । आजकल हिमपातको समय भने पर सरिरहेको छ भन्ने उनलाइ लाग्छ । पेम्बा बच्चा हुँदा सेप्टेम्बर महिनादेखि नै हिउँ पथ्र्याे ।
घरका छानाहरु हिउँले थिचिएर चुइँचुइँ कराइरहेका हुन्छन् । गाउँमा एउटाको छानो खसेपछि अन्य गाउँलेहरू पनि आआफ्ना घरका छतमा चढेर हिउँ पन्छाउन थाल्छन् । हरेक हिउँदमा ६ वा ७ पटकसम्म यस्तो गर्नुपथ्र्याै । तर आजकल पहिलेभन्दा निकै कम हिउँ पर्ने हुँदा विरलै मात्र त्यसरी पन्छाउनुपर्छ ।
डिसेम्बर २०२१ मा परेको भारी हिमपातपछि घरको छानो नभत्कियोस् भनी हिउँ फ्याँक्दै वालुङका एक स्थानीयवासी । पहिले हरेक हिउँदमा ६ देखि ७ पटकसम्म यसरी हिउँ फ्याँक्नुपथ्र्यो भने यसपटक धेरै वर्षपछि पहिलोपटक हिउँ हटाउनुपरेको थियो ।
अनियमित हिमपातका कारण क्षति
याकपालकहरूका लागि अनिश्चित प्रकारका हिमतुफानले गम्भीर समस्यामा पार्ने गर्छ । तारहरूका बीचमा झुलेको डोरीजस्तो देखिने बादलको थुप्रो अर्थात गुजिगलाई परम्परागतरुपमा हिमपात आउने संकेत मानिन्छ । एक दिन पहिलेसम्म मौसम सफा थियो । हिमपातको कुनै संकेत नै थिएन । अचानक परेको हिउँले छेकेर अल्पत्र परेका याकहरू उपत्यकाभित्र निस्फिक्री डुलिरहेका थिए । गोठालाहरूको पहुँचभन्दा पर पुगेका ६–७ वटा याकहरू खान नपाएर वा हिउँकै कारणले त्यहीँ मरे । त्यसबाट याकपालकलाई लगभग ९ लाख ६० हजार रुपैयाँ क्षति भयो ।
पेम्बा पनि यस्ता घटनाकी भुक्तभोगी हुन् । यस्तै अनुमान नै गर्न नसकिने हिमपातका कारण दुई वर्षअघि उनले पनि लगभग ४५ वटा याक गुमाएकी थिइन् । त्यसका कारण आफूले दशौँ लाख रुपैयाँ नोक्सान व्यहोर्नुपरेको उनको भनाइ छ ।
इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को कञ्चनजंघा ल्यान्डस्केप इनिसियटिभ नामक संरक्षण कार्यक्रमका प्रमुख टासी दोर्जीले वालुङका लागि पनि यो कुरा नौलो नभएको बताए । यही हिउँदमा अस्वाभाविकरुपमा परेको भारी हिमपातका कारण भुटानमा १ सयभन्दा बढी याक मरे भने उत्तरी सिक्किममा ३ सयभन्दा बढी मरे । वनस्पतिमा परिवर्तन, रोग र पानीको अभावले पूर्वी हिमालय क्षेत्रमा समस्या थपिरहेका बेला जनावरहरूका लागि अनियमित वर्षा टार्नै नसक्ने कालको रुपमा आइलाग्न थालेको छ ।
‘याकपालकहरू पहिलेजस्तो मौसम अनुमान गर्ने उनीहरूको परम्परागत ज्ञानमा भर पर्नसक्ने अवस्थामा अहिले छैनन’ दोर्जीले भने—मौसमसम्बन्धी अनुमान गर्नका लागि पुस्तौँदेखि आधार मानिने गरेका सूचकहरू पनि जलवायु परिवर्तनसँग बिथोलिएका छन् ।
हिमालय क्षेत्रमा जति छिटो जलवायु परिवर्तन पृथ्वीको अन्य कुनै पनि ठाउँमा भएको छैन । यो क्रम जारी नै रहनेवाला छ । पृथ्वीको औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गरिए पनि हिमालय क्षेत्र त्यसभन्दा थप कम्तीमा ०.३ डिग्री सेल्सियसले तात्ने अनुमान गरिएको छ । पर्यावरणीयरुपमा उच्च जोखिममा रहेको हुँदा सामान्यस्तरको तापक्रमले पनि हिमालमा गम्भीर असर पारेको हुन्छ । जलवायुविज्ञहरूका लागि यो आश्चर्यको कुरा होइन । वालुङका स्थानीयवासीको भने एउटै बुझाइ छः वातावरणमा देखिएको यो अस्वाभाविक परिवर्तनले कावा नेम्पा अर्थात् अशुभकालको आगमनको संकेत गरेको हो ।
दैवी बदलाको रुपमा जलवायु परिवर्तन
बौद्धधर्मीहरू रहेको हिमाली क्षेत्रका बासिन्दाहरूमा एउटा बुझाइ भने व्यापक छ । यो क्षेत्र स्थानीय देवीदेवता र आत्माहरूबाट तीव्ररुपमा चलायमान रहन्छ भन्ने उनीहरूको विश्वास छ । मानव गतिविधिबाट देवीदेवता रिसाए भने त्यसको बदलाको रुपमा सामान्यतया कठोर मौसम देखापर्छ । मानवशास्त्री टोनी ह्युबर र पौल पिडर्सनले यसलाई ‘तिब्बती नैतिक जलवायु’को संज्ञा दिएका छन्, जसमा मौसमले मानव समुदायको स्वभावको नक्कल गर्छ भन्ने मान्यता छ ।
आर्कटिक र प्रशान्त टापुहरूमा बस्ने आदिवासी समुदायहरूले पनि यस्तै विश्वास गरेको पाइन्छ । दशकौँदेखि अनियन्त्रितरुपमा हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण नेपालका विभिन्न समुदायलाई बाढीले सताइरहेको छ भने पोलिनेसिया क्षेत्रमा समुद्रले बालुवा सोसिरहेको छ । त्यसैले विश्वका सबैभन्दा बढी जोखिमपूर्ण अवस्थामा रहेका समुदायहरूमध्ये कतिपयले आफूहरूसँग देवता किन रिसाए भनी चिन्ता गरेका हुनसक्छन र आफ्ना साथी वा छिमेकीलाई त्यसको दोष थोपर्ने गरेको पनि पाइन्छ ।
वालुङका बासिन्दासँग यो लेखका लागि कुराकानी गर्दा उनीहरूले धार्मिक आस्थाप्रति विश्वास घट्दै गएका कारण सामाजिक तथा वातावरणीय समस्या आइपरेको बताए । जब हिमतुफान आउँछ अनि कैयौँ मानिसहरूले आफ्ना जनावरको रक्षाको कामना गर्दै धूप तथा अगरबत्ती बाल्छन्, जसलाई झ्यासुमसु भनिन्छ । तर अरु मानिसहरू भने मानिसहरूको आन्तरिक स्वभावका कारण जलवायुमा समस्या आएको हुँदा यस्ता बाह्य गतिविधिबाट त्यसको समाधान नहुने भनी चिन्ता व्यक्त गर्छन् ।
५८ वर्षीया याङचेन शेर्पाले पनि केही समयदेखि जलवायुमा देखिएका परिवर्तनले पक्कै पनि केही अशुभकाल (कावा नेम्पा) आगमनकै संकेत गरेको हुनुपर्ने बताइन् ।
‘यसलाई कसरी व्याख्या गर्ने भन्ने मलाई थाहा छैन । विगतमा, ठीक समयमा हिमपात हुने गथ्र्याे, वर्षा पनि समयमै हुन्थ्यो र आकाश निकै सफा हुन्थ्यो’ उनले भनिन्—आजकल मुश्किलले हिमपात भएको पाइन्छ तर वर्षा भने धेरै हुने गर्छ । आजकल हिउँ त विरलै मात्र देख्न पाइन्छ ।
यति भनेपछि उनी धेरैबेर चुप रहिन् । अनि भनिन—समय बदलिरहेको छ र मानिस पनि फेरिएका छन् । राम्रा मान्छे जति त सबै मरिसके ।
अशुभ संकेतको फाइदाजनक पाटो
हिमाली क्षेत्रको जैविक विविधता डरलाग्दो गरी घटिरहेको छ जसका कारण समग्र पारिस्थितिक प्रणाली (इकोसिस्टम) को स्थिरतामै चुनौती सिर्जना भएको छ । तर त्यसका कारण चुकाउनुपर्ने मानवीय मूल्य सधैँ तत्काल देखिँदैन । त्यसो त वालुङवासीकालाइ जलवायु परिवर्तन सधैँ समस्यामूलक मात्र लाग्दैन ।
एक जना याकपालकले भने—एक प्रकारले भन्दा जलवायु परिवर्तनले हाम्रो जीवन सहज बनाएको छ । विगतमा जस्तो ठूलो हिमपात नभएका कारण हामीलाई घरपालुवा जनावरहरूको निगरानी गर्न सजिलो भएको छ । न्यानो जलवायुमा जनावरका लागि घासपाँतको व्यवस्था गर्न पनि सहज हुन्छ किनभने हिउँ नभएपछि जनावरहरूलाई चरनमा छाडिदिए पुग्छ ।
गलैँचा, राडी, पाखीजस्ता सामग्री बेच्ने बिक्रेताहरूले पनि न्यानो नै मन पराउँछन् किनभने तिप्तजस्ता ५ हजार १ सय ३६ मिटरको उचाइमा रहेका , तिब्बत सीमाका प्रवेशविन्दुहरू पहिले हिउँदमा प्रायः हिउँले छोपिन्थे । केही समय बाटो रोकिन्थ्यो । अहिले त्यहाँ आवतजावत गर्न वर्षैभरि नै सहज छ ।
तर पनि वातावरणमा देखिएको यो अस्वाभाविक परिवर्तन कुनै अशुभ संकेत हो भन्ने धारणामा वालुङवासीहरू एकमत देखिन्छन् । उनीहरूलाई केही असहज अनुभूति भएको पाइन्छ । आफूहरूले बुझ्ने गरेको संसार टाढिँदै छ भन्ने आभास उनीहरूमा भइरहेको छ ।
हिमपात जसरी अविश्वसनीय हुँदै गइरहेको छ, त्यसैगरी मानिसहरूको चरित्र पनि विगतमा जस्तो भरोसायोग्य नभएको स्थानीयको गुनासो छ । द्वन्द्व र गिर्दाे नैतिकतालाई अशुभकालको प्रमुख कारणको रुपमा हेरिरहँदा अन्य कतिपयले स्थानीय समुदायलाई जलवायु परिवर्तनको मुख्य कारकको रुपमा दोष दिने गरेका छन् ।
‘सबै जना राजनीतिकरुपमा विभाजित छन्, मान्छेहरू तिमीले कांग्रेसलाई समर्थन गर्छाै, तिमीले कम्युनिष्टलाई समर्थन गर्छाै भनेर एकआपसमा झगडा गर्छन् । यस्ता गतिविधिले पनि वालुङमा मौसम खराब हुने गरेको छ ।’ तामदिङ ग्याल्पा शेर्पाको गुनासो छ ।
राम्रा मान्छेप्रतिको विश्वास कायमै छ
६५ वर्षीय व्यापारी दोर्जी बारा उनको बाल्यकालमा वालुङमै हिमताल फुटेको विनाशकारी घटना सम्झिन्छन् । हिमताललाई रोक्ने प्राकृतिक बाँधलाई पग्लेको पानीले फुटाएपछि हिमताल विष्फोट हुने गर्छ । हिमाली क्षेत्रमा नियमित प्रकोप बन्दै गएको हिमताल विष्फोटन यस क्षेत्रको जलवायु परिवर्तनको एक जबर्दस्त प्रतीक बनेको छ ।
दोर्जीले आफ्नै जीवनकालमा जलवायु परिर्वतनमा तीव्र परिवर्तन नियालेका छन् । वालुङमा यसअघि विष्फोट गराउने हिमताल केही वर्षयता खुम्चिरहेको छ किनभने पहिले पहिले हिउँले छोपिने हिमालहरू अहिले नांगो चट्टानमा परिणत भएका छन् । तर पनि भविष्यमा आइपर्नसक्ने जोखिमप्रति आशावादी हुने उनको आफ्नै बुझाइ छ । यो परिवर्तन आफैँले नियालिरहेका वालुङवासीहरूले अब हिमताल विष्फोटको जोखिम कम भएको धारणा बनाएका छन् । तर वैज्ञानिकहरूले भने हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम झन बढिरहेको भनी सचेत गराइरहेका छन् ।
बौद्धमार्गीहरूको कर्मसम्बन्धी सिद्धान्तलाई आधार मान्ने दोर्जी मानिसहरूको नकारात्मक व्यवहारले वातावरणमा प्रकोप निम्त्याउने विश्वास गर्छन् । तर समुदायमा राम्रो आत्मा भएका राम्रा मान्छेहरु छन् भन्ने विश्वासले यो उपत्यका सुरक्षित छ भन्ने उनलाई लाग्छ ‘विनाशको जिम्मेवारी हामीमा आउँछ’ उनी भन्छन्—यदि हामीले नराम्रो काम गर्छाैं र कुनै विनाश हुन्छ भने म त पृथ्वीलाई दोष दिन सक्दिन, म दलाई लामालाई पनि दोष दिन सक्दिन । त्यो दोष हामीमाथि नै आउँछ नि ।
(एलिस क्याम्ब्रिज विश्वविद्यालयमा भूगोलमा पीएचडी अध्ययन गरिरहेकी विद्यार्थी हुन् । उनी नेपालको ताप्लेजुङमा एथ्नोग्राफिक विषयको स्थलगत अध्ययन सम्पन्न गर्ने क्रममा छन् । उनले आफ्नो अध्ययनमा दुर्गम हिमाली समुदायमा जलवायु परिवर्तनको कारण र परिणामसम्बन्धी विश्वास, नैतिक सजाय र तिब्बती बुद्धिज्मसम्बन्धमा केन्द्रित छ । हामीले यो सामाग्री थर्ड पोलबाट लिएका हौं ।)