नेपाली अर्थोडक्स चिया उत्पादकलाई खुला बजारमुखी एवं स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान लागि भदौ ११ गते काठमाडौँको छाया कम्लेक्समा नेपालमा पहिलो पटक चियाको प्रतिस्पर्धा गराइने भएको छ।
आयोजक टि स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले दिएको जानकारी अनुसार प्रतियोगितामा नेपालका साना ठूला सबै गरी १०० भन्दा बढी चिया उद्योगले भाग लिनेछन् । अध्यक्ष प्रधानका अनुसार उक्त प्रतिस्पर्धामा नेपाली अर्थोडक्स चिया उत्पादक सहभागी हुन सक्नेछन्। उक्त प्रतिस्पर्धामा मुख्य गरी दुई वटा विधा निर्धारण गरिएको छ। साधारण अर्थोडक्स चिया र विशिष्ट अर्थोडक्स चिया रहने छन्। यी दुई विधाका चार वटा चियाका प्रकारमा वाईट टि, ग्रिन टि, ब्ल्याक टि र ओलङ टि बिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
प्रतिस्पर्धामा सामेल सबै चियालाई विभिन्न देशबाट निमन्त्रणा गरिएका निर्णायकको मण्डलबाट स्वाद परीक्षण गरेर मूल्याङ्कन गरिनेछ। निर्णायक मण्डलबाट एक जना निर्णायकलाई दुवै विधाका चार प्रकारका चिया मध्ये कुनै एक प्रकारको चियाको मूल्याङ्कन गर्न दिइनेछ।
तोकिएका सबै विधाका विजेता एवं उपविजेतालाई आधिकारिक निकायका अधिकारीले स्वीकृत गरेको प्रमाणपत्र र पुरस्कार उपलब्ध गराइने आयोजकले जनाएको छ। विजेता हुने चियालाई अक्सनको लागि राखिने भएको छ। एक दिने कार्यक्रम सम्पन्न गर्न आयोजकले ११ लाख ५० हजार खर्च हुने जनाएको छ। चिया व्यवसायी गोपाल कट्टेलले उक्त प्रतिस्पर्धाले नेपाली अर्थोडक्स चियाको व्यवसायिकतामा थप सहयोग पुग्ने बताउनुभयो।