सरकारले २ अर्व ६३ करोडको धान खरिद गर्ने

सरकारी कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने भएको छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्न लागेको हो । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१० रुपियाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ५८० रुपियाँ मूल्य निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ र मोटा धानको तीन हजार १९८ रुपियाँ निर्धारण गरेको थियो ।
कम्पनीले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्दै आएको छ । यस वर्ष धान खरिद गर्नका लागि स्थानीय पालिकासँग समन्वय गर्न विभिन्न २४ जिल्लामा टोली परिचालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार स्थानीय पालिकासँग समन्वय गरेर धान खरिद गर्न लागिएको होे । उहाँका अनुसार यस वर्ष ७३ हजार मेट्रिक टन धान खरिद गर्नका लागि कम्पनीबाट धान उत्पादन हुने पकेट क्षेत्रमा टोली परिचालन गरिएको छ ।
कम्पनीले कृषकबाट धान खरिद गर्न यस वर्ष दुुई अर्ब ६५ करोड रुपियाँ बजेट छुट्याएको छ । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य बढेको छ ।
व्यापारीले सस्तो मूल्यमा किसानबाट धान खरिद गर्दा मारमा पर्ने भएकाले किसानलाई राहत दिन सरकारले समर्थन मूल्य निर्धारण गर्ने गर्छ । गत वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेकोमा केवल चार हजार पाँच सय मेट्रिक टन मात्र धान खरिद गरेको थियो । गत वर्ष समयमा खरिद प्रक्रिया अगाडि नबढ्दा धान नपाउँदा लक्ष्य अनुसार धान खरिद गर्न नसकेको घटनाबाट पाठ सिक्दै यस वर्ष किसानले धान भित्राउन शुरु गर्न थाल्नासाथ टोली परिचालन गरेर खरिद प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार धान उत्पादन हुने पकेट क्षेत्रमा गएर स्थानीय पालिकासँग समन्वय गर्दा धान प्राप्त गर्न सहज हुने भएकाले विभिन्न जिल्लामा टोली परिचालन गरिएको हो ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *