ताइवानमा कृषि अनुसन्धान गर्दाको अनुभव र नेपालको अनुसन्धान पद्धती

वल्र्ड भेजिटेबल सेण्टरमा ६ महिना काम गरेपछि म भर्खर फर्किएं । ताइवानमा ६ महिना बसेर अनुसन्धान गर्दा धेरै कुरा सिक्न पाइयो । सबैभन्दा धेरै कृषि क्षेत्रको अनुसन्धानका विधि र तौर तरिकाहरुको बारेमा जान्न पाइयो । मेरो बुझाई, अध्ययन, अनुसन्धान कुनै दिन नेपालको लागि उपयोग गर्न सकें भने म आफूलाई धन्य सम्झनेछु ।
म आफ्नै प्रयासमा ‘स्कलरसीप’ पाएपछि ताइवान गएको थिएं । कृषि अनुसन्धानको लागि, त्यसमाथि तरकारीसंग सम्वन्धित अध्ययन अनुसन्धानको लागि ताइवान संसारमै राम्रो मानिन्छ । त्यहीकारण व्लर्ड भेजिटेवल सेण्टरको केन्द्रिय कार्यालय पनि त्यहंी छ ।
मैले त्यहाँ खुर्सानीमा अनुसन्धान गरें । उच्च तापक्रम सहन सक्ने जातहरुको विकास र त्यसमा सृजना हुने समस्याहरुको बारेमा अनुसन्धान गरें । अनुसन्धानको निष्कर्ष नेपालको लागि पनि काम लाग्दो हुन सक्ने महसुस गरेको छु । तर, त्यसलाई कहाँ कसरी उपयोग गर्ने भन्ने बारेमा अहिले नै भन्न सकिदैन । म मास्टर्स गर्नको लागि अमेरिका जांदैछु । त्यहाँ पनि अनुसन्धानकै काम गर्नेछु । ती दुवै अनुसन्धानको आधारमा भविश्यमा नेपालमा खुर्सानीको विकास र विस्तारमा योगदान पुर्याउन सक्छु भन्ने लागेको छ, हेरौं के हुन्छ ।
धेरै साथीहरुले अमेरिका गएपछि फर्किदैनस्, फर्किनु पर्दैन भनिरहेका छन् । तर, जो जस्ले जे भने पनि मास्र्टर्स गरेपछि ५ वर्ष अतिरिक्त काम गर्छु र नेपाल फर्किन्छु । यस्मा मेरो योजनावद्ध सोंच छ । नेपाल फर्किएरै जुन क्षमता छ, त्यो अनुसार काम गर्छु, किनकी मलाई नेपाली माटोको ऋण तिर्नु छ । विदेश भनेको अध्ययन अनुसन्धान गर्न जाने हो र त्यहाँ सिकेको सीपलाई नेपाली माटोमा उपयोग गर्नुपर्छ भन्ने मेरो बुझ्ने भएदेखिकै स्पष्ट मान्यता हो ।
ताइवानको मुख्य विशेषता त्यहाँ बैज्ञानिक, अनुसन्धानकर्ताहरुलाई साह्रै महत्व दिइन्छ । उनीहरुलाई आवासको व्यवस्था मात्रै हुँदैन, तलब सुविधा पनि निकै उच्च स्केलमा दिइन्छ । कर छुट हुन्छ । ‘अनुसन्धान गर, नयाँ प्रविधिहरुको विकास गर्छ, तिम्रो जीवन चलाउन चिन्ता गर्नु पर्दैन’ भन्ने मान्यतासहित सरकारले कृषि वैज्ञानिक, अनुसन्धानकर्ताहरुलाई सहयोग गर्छ । वैज्ञानिकको मूल्याँकन कार्यालयमा गरिने हाजिरीले होइन, अनुसन्धानको परिणामको आधारमा गरिन्छ । त्यसो भएपछि अध्ययन अनुसन्धानको काम प्रभावकारी हुने नै भयो । ताइवान कृषिप्रधान मुलुक नभएर पनि कृषि अनुसन्धानमा विश्वकै अग्रणी मुलुक मानिनु पछाडिको कारण त्यही नै हो । अरुले जे गरुन, अनुसन्धानमा हामी पछाडि पर्नु हुंदैन भन्ने मानसिकताका साथ त्यहाँको सरकारले काम गरिरहेको छ । हाम्रो जस्तो कृषि प्रधान देशमा कृषिको अनुसन्धान र विकासमा चासो छैन, कृषि प्रधान नभएको औद्योगिक राष्ट्र ताइवानमा भने कृषि वैज्ञानिक, अनुसन्धानकर्मी र किसानलाई हेर्ने दृष्टिकोण फरक छ ।
ताइवानमा म कृषि वैज्ञानिक हुँ वा प्रध्यापक हुँ भनेपछि राज्यका हरेक निकायले सम्मान गर्छन् । नागरिकले पनि सम्मानको दृष्टिले हेर्छन् ।
हाम्रो देशमा भने अध्ययन अनुसन्धान जे सुकै गर, कार्यालयमा हाजिरी चांही नछुटाउ भन्ने मानसिकताको विकास गरिएको छ । अनुसन्धानकर्मी, बैज्ञानिकहरुलाई पनि १०—५ को नियममा वाँधिएको छ । प्रशासनिक काममा लगाइएको छ । त्यसले गर्दा कुनै पनि क्षेत्रमा प्रभावकारीरुपमा अध्ययन अनुसन्धान हुन सकेको छैन । भएका अनुसन्धानहरुले परिणाम दिन सक्दैनन् । वैज्ञानिक अनुसन्धानकर्मीको कुनै सामाजिक मूल्य मान्यता र पहिचान छैन । त्यसो भएपछि वैज्ञानिकहरु पलायन हुनु स्वभाविक नै हो ।
साँच्चै नै देशको विकास गर्ने हो भने सबैभन्दा पहिले अनुसन्धानको क्षेत्रमा पर्याप्त बजेट छुट्याउनु पर्छ । कृषि अनुसन्धानलाई मात्र होइन, हरेक क्षेत्रका अनुसन्धानलाई प्रभावकारी बनाउनु पर्छ । वैज्ञानिकको मान सम्मान र आत्मसम्मान बढाउनु पर्छ । तब बल्ल उपलब्धि हासिल हुन सक्छ । अन्यथा अहिलेकै जस्तो तरिकाले त कहिले पो अनुसन्धानको क्षेत्रले फड्को मार्ला ? देशमा कृषि उपजहरुको पर्याप्त विकास र विस्तार होला ? र आत्म निर्भर अर्थतन्त्रको विकास भएर नेपालीले गर्व गर्ने अवस्था आउला ? भन्न सकिदैन ।

Spread the love by sharing this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *