देश कसरी चल्दैछ भनेर तपाईलाई जान्न मन छ ? त्यसो भए सम्मानित धाराको पानी पिउन जानुस् ।
तर, तपाईले जति रहर गरे पनि त्यहाँ पानी पिउन पाउनुहुन्न । किनकी त्यो धारोमा पानीको थोपो चुहिदैन
हो, ४ वर्ष अगाडि तत्कालिन राष्ट्रपति विद्या भण्डारीबाट धुमधामका साथ उद्घाटन गराइएको धारोबाटै अहिले एक थोपा पानी चुहिदैन ।
मेलम्ची खानेपानी आयोजना मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐतिहासिक अवसरमा भन्दै भृकुटीमण्डपमा निर्माण गरिएका तीन वटा ढुङ्गेधारा खोलेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट विसं २०७७ चैत २० गते मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गराइएको थियो । त्यतिबेला भृकुटीमण्डपमा घुम्न आउनेहरुले उक्त धाराबाट स्वस्थ्य पानी निःशुल्क रूपमा पानी पिउन मिल्ने र २४ घण्टा नै पानी आउने दावी गरिएको थियो ।
राष्ट्रपतिबाट उद्घाटन गराइएकोले त्यो धारोलाई आयोजनाले सम्मानित धारोको नाम दिएको छ ।
तर, उदघाटन गरिएको दिनमा बाहेक अरु दिन कहिल्यै राम्रोसंग पानी आएन । शुरुका केही दिन अलि अलि पानी आए पनि त्यसपछि भने पानीको थोपो पनि चुहिन छोड्यो । अहिले एउटा धाराको त टुटीसमेत हराइसकेको छ । धारा जडान गरिएको ठाउँलाई जस्तापाताले छेकेर साँघुरो पारिएको छ ।
सहरी खानेपानी तथा सरसफाइ आयोजनाले उक्त धाराको पानीको बिल भुक्तानी कसले गर्ने र ती धाराबाट बिसर्जन हुने पानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय स्पष्ट नहुँदा त्यहाँ पानीको आपूर्ति हुन नसकेको दावि गरेको छ । आयोजनाका एक अधिकारी काठमाण्डौ महानगरपालिका तथा समाज कल्याण परिषद कसैले पनि उक्त धाराको बील तिर्न चासो नदेखाएकोले धारोमा पानी उपलब्ध गराउन नसकेको दावी गर्छ ।
आयोजनाका अधिकारीहरुले त्यस्तो दावी गरे पनि त्यसमा पत्याउन सकिने आधार छैन । किनकी समस्या त्यो धारोको मात्र होइन, सबैतिरको हो । मेलम्चीको पानी वितरण शुरु भएको भनिएको ४ वर्ष वितिसक्दा पनि आयोजनाले काठमाण्डौमा एक दिन खानेपानी वितरण प्रभावकारीरुपमा गर्न सकेको छैन ।
अब प्रश्न उठ्छ काठमाण्डौको मध्यभागमा राष्ट्रपतिबाटै उद्घाटन गराइएको एउटा सानो कामको त्यस्तो हालत हुन्छ भने अरु तिरका सरकारी कामहरु कति प्रभावकारी होलान् ? जेहोस देश कसरी चलिरहेको छ भन्ने थाहा पाउन मन लागे त्यो धाराको नियति हेरे पुग्छ । त्यो धारो आजको नेपालको वास्तविक ऐना हो भन्दा फरक पर्दैन ।